काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले विश्व नेताहरूको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा ख्याल गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको छ ।
अजरबैजानको बाकुमा चलिरहेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा विश्व नेताहरूको उच्च स्तरीय सत्रलाई सम्बोधन गर्दै उहाँले पर्वतीय देशका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती देश मात्र होइन तल्लो तटीय देशलाई पनि सङ्कटमा पुर्याउँछ भन्ने विश्वले बिर्सन नहुनेमा जोड दिनुभयो ।
उहाँले हिमालदेखि समुद्रसम्मको एकीकृत र समष्टिगत अनुकूलन अवधारणालाई औपचारिक संवादको विषय बनाउनसमेत प्रस्ताव गर्नुभयो । साथै, नेपालले यसै अवधारणामा आधारित भई सगरमाथा संवाद कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो ।
राष्ट्रपति पौडेलले आफू जलवायु न्याय र क्षतिपूर्तिको आवाज लिएर यो सम्मेलनमा सहभागी हुन आएको बताउनुभयो । उहाँले भन्नुभयो ‘गोलाबारुदमा खर्च भइरहेको ठूलो स्रोतसाधन जलवायु परिवर्तनका नकारात्मक असर न्यूनीकरण गर्दै मानव सभ्यताको बचाउमा उपयोग हुनुपर्छ ।’ जलवायु परिर्वतनको असरबाट पृथ्वी नै सङ्कटमा रहेको उहाँले उल्लेख गर्नुभयो ।
जलवायु वित्त कोषहरूमा घोषणा गरिएको रकम अपुग त छँदैछ, घोषणा गरिएको रकम पनि जम्मा हुन नसक्नु, जम्मा भएको रकम पनि झन्झटिलो प्रक्रियाले गर्दा लक्षित समुदायमा सहज पहुँच हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ थियो ।