सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङ्बु शेर्पाले मंगलबारका लागि बोलाएको जिल्ला कार्यसमितिको बैठक एउटा समूहले बहिस्कार गर्ने भएको छ।
नेपाली कांग्रेसको सय दिने अभियानको प्रतिनिधिका रूपमा जिल्लामा खटिएका केन्द्रीय सदस्य अमृत अर्याललाई ध्यानाकर्षण पत्र लेख्दै बैठक आउनु दुई दिन अघि आइतबार जिल्ला कार्यसमिति सचिबद्वय युवराज घिमिरे र भलाकाजी राईले सो जानकारी गराएका हुन्।
सचिबद्वय घिमिरे र राई जिल्ला कार्यसमितिमा पूर्बमन्त्री एबम् नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य बलबहादुर केसी निकट र सभापति शेर्पा अर्का केन्द्रीय सदस्य एबम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पा निकट मानिन्छन्।
अर्याललाई सचिबद्वयले बुझाएको ध्यानाकर्षण पत्रमा १४ औं जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला नेतृत्व हालसम्म पनि विधि विधान, नियमावली साथै केन्द्रको परिपत्रको भावना र मर्म अनुसार सञ्चालन हुनको साटो एकलौटीपन एबम् मनोगत रुपमा सञ्चालित भईरहेकाले बर्तमान सभापति शेर्पामाथि केन्द्रीय अनुशासन समितिले छानबिन गरी अनुशासनको कारबाही नगरेसम्म कुनै कार्यक्रममा सहभागिता नहुने स्पष्ट पारेका छन्।सभापति शेर्पा लगायतविरुद्ध आफुहरुले २०७९ माघ १५ गते केन्द्रीय अनुशासन आयोगमा निवेदन दर्ता गराएको स्मरण पनि उनीहरूले गराएका छन्। सोही मितिदेखि बर्तमान सभापति बोलाएका कुनै पनि बैठक या कार्यक्रमहरुमा हाम्रो सहभागिता नरहेको जानकारी गराउंँदछौ,- सचिबद्वयले अर्याललाई बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
पार्टीका बहुमत पदाधिकारी, सदस्य, महाधिवेशन प्रतिनिधि एकातिर र पार्टी नेतृत्व अल्पमत साथ अर्कोतिर रहेको दावी गर्दै ध्यानाकर्षण पत्रमा जिल्ला पार्टी नेतृत्वले पार्टीको स्थानीय तह निर्वाचनमा विधानको व्यवस्था विपरित वडा कार्यसमिति, गाँउ/नगरपालिका कार्यसमिति र क्षेत्रिय कार्यसमितिको सिफारिस विपरित संसदीय समितिको बैठक पनि नराखी २०७४ को विद्रोही उम्मेदवारलाई टिकट दिएको,प्रदेश सभा एवं प्रतिनिधिसभा निर्वाचन २०७९ का लागि नाटकीय ढंगले उम्मेदवारहरुको सिफारिस गरिएको, २०७९ मंसिर ४ को प्रतिनिधि एवं प्रदेश सभा निर्वाचनमा पार्टी एवं गठवन्धनका उम्मेद्वारलाई पार्टी नेतृत्वको अगुवाईमा अन्तर्घात गरिएको,नेपाल महिला संघ सोलुखुम्बुको विधिवत अधिवेशनबाट निर्वाचित हुनुभएकी छिण्डील्हमु शेर्पा अन्य पार्टीमा गएको भनि झुट्टो आरोप लगाई विधि र विधान विपरित अर्को सभापति बनाइएको तथा पार्टीका क्रियाशील, भातृ संगठन (महिला संघ, नेपाल विद्यार्थी संघ, आदिवासी जनजाति महासंघ )मा मनोमानी ढंगले हटाउने र आफ्नाहरु नियुक्ति गरिएको आरोप लगाएको छ ।
यसैगरी, पार्टीको जिल्ला कोषाध्यक्ष विधि र विधान प्रक्रिया विपरित नियुक्ति गरिएको, पार्टीका शाखाहरु विधि विधान बाहिर गएर आमन्त्रित सदस्यका रुपमा मनोनयन गरेका सदस्यहरुलाई जिम्मा लगाउने काम भएको र महासमिति सदस्यहरुको निर्वाचनमा निर्वाचन सम्पन्न भयो भनि नक्कली प्रतिवेदन बुझाउने जस्ता कार्य गरेको आरोप पनि ध्यानाकर्षणपत्रमा लगाईएको छ।