३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

लुक्लाका लागि त्रिभुवन बिमानस्थलबाटै नियमित व्यबसायिक उडान गर्नुपर्ने टान द्वितीय उपाध्यक्ष शेर्पाको माग



काठमाडौं।नेपाल ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का द्वितीय उपाध्यक्ष सनम शेर्पाले त्रिभुवन बिमानस्थलबाट लुक्लाका लागि प्रत्यक्ष उडान नहुंँदा पर्यटकीय सिजनमा पर्यटक र व्यबसायीहरुले निकै कष्ट ब्यहोर्नु परेको बताउनुभएको छ।

एयर ट्राफिक कन्ट्रोलको समस्या देखाउँदै रामेछापको मन्थलीबाट लुक्ला उडान सुरु भए यता पर्यटक र व्यबसायीहरुले निरन्तर कष्ट व्यहोर्नु परेको बताउँदै द्वितीय उपाध्यक्ष शेर्पाले लुक्लाका लागि व्यबसायिक उडान त्रिभुवन बिमानस्थलबाटै गराउनुपर्ने बताउनुभयो।

पहुँचवालाहरुले काठमाडौंबाटै लुक्लाका लागि उडान भर्ने र अन्य व्यबसायीहरुले मन्थलीबाट मात्रै गर्नुपर्ने बिमानस्थल प्रशासनको दोहोरो चरित्रका कारण बिचौलियाहरुलाई मात्रै लाभ मिलेको बताउँदै वहाँले भन्नुभयो,-‘लुक्ला बिमानस्थल प्रशासनले समेत बिचौलियाहरुसंगको मिलेमतोमा हैरानी दिने गरेको गुनासो धेरै जसो व्यबसायीहरुले गर्ने गरेका छन्।’

‘सामान्य मौसममा समेत लुक्ला टावरले उडान स्थगित गरिंदिंदा हेलिकप्टर वा यात्रुवाहक बसबाट मन्थली आईपुगेका पर्यटकहरु मन्थली बिमानस्थलमै सुतेर दिनरात कटाउन बाध्य छन’हाल मन्थलीमै रहनुभएका शेर्पाले भन्नुभयो,यस्ता कुराले पर्यटन क्षेत्रमा नकारात्मक असर पुर्‍याउँछ। रोजगारी र आर्थिक समृद्धिका लागि मुलुकको एक मात्र भरपर्दो विकल्प पर्यटन ब्यबसायलाई नै असर पुर्‍याउने यस किसिमका क्रियाकलाप रोकिनु पर्ने वहाँले बताउनुभयो ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १० : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.