काठमाडौं। रक्षामन्त्री मानबीर राईले सोलखुम्बुको खुम्बूपासाङ्ग ल्हामु गाउँपालिकाको थामेमा आएको बाढीका कारण सञ्चार सम्पर्क बिच्छेद भएका कारण त्यसलाई यथाशीघ्र सञ्चालन गर्न र जिल्लाभर बेलाबेला सञ्चार अवरुद्ध हुने समस्यालाई तत्काल समाधानका लागि निर्देशन दिन सूचना तथा सञ्चार प्रबिधिमन्त्री पृथ्वी सुब्बा गुरुङसंग आग्रह गर्नुभएको छ।
मन्त्री गुरुङसंग सञ्चार मन्त्रालयमा आईतवार भेट गरी रक्षामन्त्री राईले थामे बाढीका कारण खुम्बु विजुली कम्पनीको ड्याम लगायत विद्युत गृह ध्वस्त भएका कारण सो क्षेत्रमा कुनै पनि टेलिफोन टावरले काम नगर्नाले सो क्षेत्र सञ्चारविवीन भएको हुँदा पर्टकीय मौसम पनि सुरु हुने क्रममा रहेको कुरालाई समेत मध्यनजर गर्दै बैकल्पिक बिधिबाट भए पनि तत्काल सञ्चार सम्पर्क स्थापित गर्नका लागि मातहतका निकायलाई निर्देशन दिन सञ्चारमन्त्री गुरुङलाई आग्रह गर्नुभएको थियो।
रक्षामन्त्री राईको सचिवालयले जनाए अनुसार भेटका अवसरमा जिल्लाको माप्य दुधकोशी गाउँपालिका वडा नं. १ अन्तर्गत निर्माणाधीन नेपाल टेलिकमको टावर निर्माण सम्पन्न हुन बाँकी रहेका कारण सो क्षेत्रमा नेपाल टेलिकमको सञ्चार सेवा अवरुद्ध भएको जानकारी गराउँदै मन्त्री राईले तत्काल टावर निर्माण सम्पन्न गर्नुपर्ने,खुम्बु पासाङ ल्हामु गाउँपालिकाले आफ्नै पहल र आर्थिक दायित्वमा अप्टिकल फाइवर सामाग्री ढुवानी गरी तत्स्थानहरुमा पुर्याई सकेको भएता पनि विछ्याउने कार्यमा ढिलाई भइरहेको हुँदा त्यसलाई तीब्रता दिन पनि रक्षामन्त्री राईले ध्यानाकर्षण गराउनुभएको थियो।
यसैगरी,सोलुखुम्बु र खोटाङ्ग जिल्ला भित्र नेपाल टेलिकमको सेवा प्रभावकारी सञ्चालनका लागि निर्माण गरिएको जुबुको डाँडाखर्कमा रहेको नेपाल टेलिकमको टावरमा जडान गरिएको सोलार सिष्टमले राम्रोसँग काम नगरेका कारण नेपाल टेलिकमको मोवाइल सेवा वारम्बार अवरुद्ध हुने गरेको जानकारी गराउँदै मन्त्री राईले सम्बन्धित निकायहरुको समन्वयमा टावरको नजिकै राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा सो टावससम्म पुर्याई सेवा स्तरीकरण गर्नुपर्ने,नेचासल्या गाउँपालिका क्षेत्रमा क्षतिग्रस्त रहेको अप्टिकल फाइवरको समस्या तत्काल समाधान गर्न पहल गर्न र नेपाल टेलिकम कार्यालय सोलुखुम्बु लामो समयदेखि कार्यालय प्रमुख विहीन रहेकाले कार्यालयमार्फत सम्पादन र समन्वय गर्नुपर्ने कार्य प्रभावकारी हुन नसकेकोले कार्यालय प्रमुख व्यबस्थापनका लागि निर्देशन दिन रक्षामन्त्री राईले मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएको सचिवलयले जनाएको छ।