३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त,सपथ सोमबार ११ बजे



काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २८ गते बसेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि यही असार ३० अपरान्ह ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार सांझ आह्वान गर्नुभएको थियो ।

राष्ट्रपतिले दाबी पेस गर्न आह्वान गरे लगत्तै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले दलका नेताका हैसियतमा बहुमत सदस्यको हस्ताक्षरसहित अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्नुभएको थियो ।

अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएको यो चौथो पटक हो । यसअघि नेता ओली पहिलो पटक २०७२ असोज २४ गते र दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो। २०७८ बैशाख ३१ गते ओली तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुनु भयो । तेस्रो पटक ओलीले संविधानको धारा ७६ (३) बमोजिम प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलको नेताको हैसियतले फेरि प्रधानमन्त्रीको पदभार ग्रहण ग्रहण गर्नु भएको थियो । २०७८ असार २८ गते अदालतको परामादेश सँगै विघटित संसद पुनर्थपना भयो । नेपाली काँग्रेसका नेता शेर बहादुर देउवा प्रधानमन्त्री बन्नु भयो । तेस्रो पटको कार्यकाल दुई महिना मात्र रह्यो ।

प्रकाशित मिति : ३१ असार २०८१, आइतबार  ६ : ०८ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.