चितवन।त्रिशुली नदीमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा,वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य शुरु गरिएको छ।
र्याफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सकिने भएका कारण सोनार क्यामराको प्रयोग गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित ४५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको जनाइएको छ।खोजी कार्यमा नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् ।
बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुली नदीमा खसेको थियो ।