३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती मनाईंदै



काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गरेका थिए । उनले लेखेको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए ।

‘वधुशिक्षा’उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी उनका ‘प्रश्नोत्तर’,‘भक्तमाला’,‘रामगीता’, फुटकर रचनालगायत कृति छन्

यसैबीच,राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन् । भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन गर्नुपर्ने उनले उल्लेख गरेका छन् ।

आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले शनिबार शुभकामना सन्देश जारी गर्दे आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३० असार २०८१, शनिबार  २ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.