१४ बैशाख २०८२, आइतबार | Mon Apr 28 2025

स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने – शेखर कोइराला



बेलबारी।मुलुकमा स्थिर सरकार बिना आर्थिक विकासले गति लिन नसक्ने नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । आइतवार मोरङको बूढीगङ्गा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यासका क्रममा नेता कोइरालाले स्थिर सरकार र सुशासनका लागि अहिलेको निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने बताए ।

स्थिर सरकार नहुँदा जनताले अपेक्षा गरेअनुसार मुलुकको विकास हुन नसकेको उनको भनाइ थियो । ‘अहिलेको निर्वाचन प्रणालीको अवस्था यस्तै रहिरहने हो भने स्थिर सरकार बन्न सक्दैन,’ उनले भने, ‘यो प्रणालीमा कुनै दलले बहुमत ल्याउने अवस्था छैन, कुनै दलले स्पष्ट बहुमत नपाउँदासम्म सरकार बनाउने र गिराउने खेल चलिरहन्छ जसले गर्दा मुलुकको विकासमा अवरोध पुग्छ ।’

कोइरालाले मुलुकको विकासका लागि कांग्रेस र एमाले एक स्थानमा उभिनुपर्ने आवश्यक्ता रहेको बताए । उनले भने, ‘संविधान संशोधन गरी मुलुकलाई निकास दिन नेपाली कांग्रेस र नेकपा (एमाले) एकै स्थानमा उभिनुपर्छ, दुई दल एकस्थान नउभिँदासम्म संविधान संशोधन हुन सक्दैन ।’

कार्यक्रममा बूढीगङ्गा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा मगर, उपाध्यक्ष अमृताकुमारी गच्छदार, नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीलगायतले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

बूढीगङ्गा गाउँपालिकालाई स्थानीय योगमाया कार्की र सोहार्द्र कार्कीले निःशुल्क रुपमा उपलब्ध गराएको आठ कट्ठा दुई धुर जग्गामा गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुनेछ । बहुवर्षीय योजनाअन्तर्गत रु ११ करोड ८६ लाखको लागतमा निर्माण हुने भवन चार तलाको हुने प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेले जानकारी दिए ।(रासस)

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : १७ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.