३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

आज महाशिबरात्री पर्व मनाईंदै,बिश्वभरका शिबालयहरुमा भक्तजनको भीड



काठमाडौं।भगवान शिवको पूजा आराधना गरेर बिश्वभर रहेका हिन्दु धर्मावलम्बीलेहरुले आज महाशिबरात्री पर्ब मनाउँदैछन्।

फागुन कृष्ण चतुर्दशीमा मनाइने शिवरात्रिका दिन काठमाडौंको पाशुपत क्षेत्र र बिश्वभरका शिवालयहरूमा श्रद्धालुको भीड लाग्ने गर्छ । शिवरात्रिमा श्रद्धालुहरू दिउँसो व्रत बसी रातभर जागा रहेर रुद्राभिषेक गरी भगवान् शिवको आराधना गर्ने, भजन गाउने चलन छ ।

व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन्। महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

धार्मिक मान्यताअनुसार सृष्टिको प्रारम्भमा आजको दिन मध्यरात भगवान् शंकर ब्रम्हाबाट रुद्रको रूपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान् शिवले ताण्डव नाच्दै ब्रह्माण्डलाई तेस्रो नेत्रबाट ज्वाला निकालेर समाप्त गरेको धार्मिक मान्यता रहँदै आएको छ । त्यसैले यसलाई महाशिवरात्रि वा कालरात्रि पनि भनिन्छ ।

महाशिवरात्रि मेलाका अवसरमा काठमाडौंको पाशुपत क्षेत्रमा लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरेको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाएर आजैदेखि लागु गरेको हो ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरू आज राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्तरूपमा उक्त सुरक्षा योजना बनाइ लागु गरेको उनले बताए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार  ९ : ४३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.