काठमाडौं।राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आयोजित समारोहमा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले नवनिर्वाचित सदस्यलाई शपथ दिलाएकी हुन्। समारोहमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यलाई सभाको प्रतीक चिह्न लगाइदिएकी थिइन्।
राष्ट्रिय सभा सदस्यका १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो। ६ वर्षअघि निर्वाचित राष्ट्रिय सभा सदस्यको फागुन २० मा पदावधि सकिएको थियो।
नयाँ संविधान बमोजिम राष्ट्रिय सभा गठन भएपछि पहिलो पटक कार्यकाल निर्धारण गर्न गोला प्रथा भएकोमा त्यसबेला ६ वर्षे कार्यकाल निर्धारण भएका सांसदको पदावधि आईतबारदेखि सकिएको हो।
पदावधि सकिनेमा एमालेबाट निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना, इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ, रामचन्द्र राई ,कांग्रेसबाट निर्वाचित अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ, रमेशजंग रायमाझी र दृगनारायण पाण्डे,माओवादीका महेशकुमार महरा, बिना पोखरेल र हरिराम चौधरी ,एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा,जसपाकी प्रमिला कुमारी र स्वतन्त्रबाट निर्वाचित खिमलाल देवकोटाको पनि पदावधि सकिएको थियो।
राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको पनि पदावधि सकिएको छ। पौड्यालको ठाउँमा मन्त्रिपरिषद्को सिफारिसमा एक जना मनोनित हुनेछन् भने बाँकी १९ सांसदका लागि निर्वाचन भएको थियो।