सिमरा। शनिवार राती बाराको जीतपुर डुमरवानामा रहेको कुमारी बैंकको एटिएम मेसिन फोडेरपैसा चोरी गर्ने प्रयास भएको छ। सुन्दरबस्तीमा रहेको एटिएम मेसिन फोडे पनि भल्ट फुटाउन नसकेपछि चोरले रकम चोरी गर्न सकेको छैन ।
सटरको ताला फुटाएर भित्र पसेका चोरले एटिएम मेसिन फोडे पनि भल्ट फुटाउन नसकेका कारण पैसा भने निकाल्न सकेका छैनन ।
एटिएम मेसिनको अवस्था हेर्दा रकम चोरी गर्न नपाएको जस्तो देखिएपनि प्रहरीको उपस्थितीमा ‘भेरिफाई’ गर्ने तयारी भईरहेको जानकारी प्राप्त भएको छ।
आइतबार बिहान करिब ३:३० बजे बैंकमा रहेका सुरक्षागार्डले एटिएम मेसिन फोडिएको जानकारी पाएका थिए। सिसिटिभी क्यामरा बन्द अवस्थामा देखेपछि जाँच गर्ने क्रममा सुरक्षागार्डले एटिएम राखिएको सटर र मेसिन फोडिएको अवस्थामा देखेको बताएका छन ।
बैंकका अनुसार राती १:५० बजेदेखि नै सिसिटिभी क्यामरा बन्द भएको अवस्था देखियको छ । सटर फोडेलगत्तै क्यामरा फुटाएर चोरले एटिएम मेसिन फोड्ने प्रयास गरेका आनुमान गर्न सकिन्छ ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले एटिएम मेसिन फोड्नेको खोजी भईरहेको बताए। सिसिटिभी फुटेजका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको क्षेत्रीले बताए।
तस्बिर सामाजिक संजाल