ओखलढुंगा । जिल्ला प्रशासन कार्यालय ओखलढुंगा कार्य सम्पादन मूल्याङ्कनमा ३० औँ स्थानमा परेको छ । आर्थिक बर्ष २०७९/०८० को कार्य सम्पादन मूल्याङ्कनको आधारमा ३० औँ स्थानमा पर्न सफल भएको हो ।
जिल्ला प्रशासन कार्यालय ओखढुंगाले ९०.६४ प्रतिशत अंक प्राप्त गरि अति उत्कृष्टको सूचीमा पर्न सफल भएको छ ।
गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष हुने कार्यसम्पादन सम्झौताको कार्यान्वयनको मूल्याङ्कन समितिले सार्वजनिक गरेको मूल्याङ्कन प्रतिवेदन अनुसार विभिन्न सूचकहरूको आधारमा जिल्ला प्रशासन कार्यालय ओखलढुंगा ३० औं स्थानमा पर्दै देशभरका जिल्ला प्रशासन मध्ये अति उत्कृष्ट सूचीमा परेको हो ।
आगामी दिनमा सर्वोत्कष्ट बनाएर एक नम्बरमा ल्याउने गरि आफुले कार्यसम्पादन गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताएका छन् । हरेक बर्ष शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन, सेवा प्रवाह, बजार अनुगमन, विपद जोखिम न्यूनीकरण र मुद्दाको फर्छ्यौटलगायतका आधारमा कार्य सम्पादन मूल्यांकन हुने गरेको प्रमुख जिल्ला अधिकारी बरालको भनाई छ ।