रौतहट । फतुवा विजयपुर नगरपालिका, रौतहटका मेयर गोपाल राय यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुशीप्रसाद थारुको संयुक्त इजलासले मेयर यादवसहित २१ जनालाई दोषी ठहर गरेको हो ।
ऐन नियम विपरीत लालबकैया नदीको ठेक्का लगाएको ठहर गर्दै अख्तियारले मेयर यादवसहित २१ जनाविरुद्ध १२ असार २०७९ मा १ करोड ५३ लाख ५० हजार १९९ रुपैयाँ विगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
मुद्दामा मेयर गोपाल यादव, तत्कालीन उपमेयर कान्तीदेवी, तत्कालीन वडाअध्यक्षहरु भविछन राय, सञ्जयप्रसाद शेख, एजाज अहमद, दीपनारायण साह, उमाशंकर साह कलवार, हिरा राय यादव, योगेन्द्र चौधरी, ज्ञानेन्द्र चौधरीलाई विपक्षी बनाइएको थियो ।
गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकास्थित लालबकैया नदीको ठेक्का गैर कानुनी रुपमा रद्द गरी नगरपालिकालाई नोक्सानी पुर्याएको आरोप उनीहरुमाथि लागेको थियो ।
दुवै पालिका भएर बग्ने लालबकैया नदीबाट ढुंगा, गिट्टी बालुवाको ठेक्का गर्ने तथा प्राप्त राजस्व फतुवा विजयपुरलाई ६० प्रतिशत र गुजरा नगरपालिकालाई ४० प्रतिशत बाँडफाँड गर्ने निर्णय भएकोमा फतुवा विजयपुरले गैरकानुनी रुपमा ठेक्का रद्द गर्दै नगरपालिकालाई नोक्सानी पु¥याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको थियो ।