काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि हुने कारबाहीबारे स्थायी सूचना बोर्ड राख्न निर्देशन दिएको छ ।
मन्त्रालयले आज बुधवार एक सूचना निकाल्दै कम्तीमा छ फिट उचाइ र चार फिट चौडा स्थायी सूचना पाटी राख्न आग्रह गरेको हो ।
मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीका अनुसार सूचना पाटीमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को दफा (३) मा व्यवस्था भएअनुसार हातपात, तालाबन्दी तथा तोडफोडजस्ता कार्य गर्न नहुने व्यवस्थासँगै दफा १५ मा व्यवस्था भएको कसुर र सजायको व्यवस्थाबारे जानकारी उल्लेख गर्नुपर्ने बताइएको छ । प्रवक्ता बुढाथोकीले स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पुर्याउने र हातपात गर्नेमाथि कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
उपचारमा लापरबाही भएको शङ्का लागेमा सम्बन्धित संस्थाको प्रमुख वा जिल्ला प्रशासन कार्यालय वा नेपाल मेडिकल काउन्सिल तथा मन्त्रालयमा निवदेन दिन सकिने सूचनामा उल्लेख छ ।