विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीका नयाँ नेतृत्वले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।नवनिर्वाचित प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नेकपा एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठले निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
एमालेको पहिलो प्रदेश अधिवेशनमा विनोद ढकाललाई पराजित गर्दै घनश्याम खतिवडा अध्यक्षमा निर्वाचित भएका थिए । खतिवडाले ५ सय १२ मत पाएका थिए भने ढकालले ४ सय ३० मत पाएका थिए । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी, उपसचिवमा झापाकी जलवर्षा राजवंशी र खोटाङका देवान राई निर्वाचित भएका थिए । अधिवेशनबाट प्रदेश कमिटीका पदाधिकारीसहित २ सय १५ सदस्यीय कमिटीको निर्वाचन भएको थियो ।