काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिन फागुन १ गतेलाई महान दिनको रुपमा लिनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई हिंसाको सुरुवात भएको दिनको रुपमा ब्याख्या गरेका थिए । सरकारले उक्त दिनलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिएकामा असन्तुष्टि राख्दै उनले त्यो आफूहरुलाई मान्य नभएको ओलीले बताएका थिए ।
अध्यक्ष ओलीपछि बोलेका माओवादी केन्द्रका उपमहाचिव शर्माले जनयुद्धकै जगमा राजतन्त्र ढलेको र समानुपातिक समावेशी प्रतिनिधित्वसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बन्न सफल भएको बताए ।
जनयुद्धले सात सालदेखि अधुरा रहेका आन्दोलनहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रुपमा र संविधानसभामार्फत नयाँ संविधान दिनका लागि एउटा संकल्प गरेको र त्यसलाई पूरा गरेको शर्माले दाबी गरे ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानमा लेखिएका अधिकारहरुको सही कार्यान्वयनका लागि संस्थागत सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले माओवादीले सशस्त्र युद्ध सुरु भएको दिनको अन्यथा व्याख्या नगर्न समेत आग्रह गरे ।