विराटनगर । विराटनगरमा आयोजना गरिने नेकपा एमालेको पहिलो कोशी प्रदेश अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबारबाट सुरु हुने अधिवेशनको तयारी पुरा भएको हो ।
दुई दिनसम्म सञ्चालन हुने अधिवेशनको तयारी पुरा भएको प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले जानकारी दिए । तर प्रतिनिधि छनोटको विवाद भने कायम नै रहेको बताइएको छ । पालिका र जनवर्गीय संगठनबाट ९ सय ९७ जना प्रतिनिधि छनोट भएर विराटनगर आइपुगेका छन् ।
यस्तै, ५० जना प्रतिनिधिको छनोट बाँकी रहेकोछ । पार्टी कमिटीले मनोनित गर्ने ५० जना प्रतिनिधि छनोटको टुङ्गो लागिनसकेको उनले बताएका छन् । छनोट गर्ने कि नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनको भनाई छ ।
मनोनित भए अधिवेशनमा सहभागि हुने प्रतिनिधिको संख्या १०४७ हुनेछ । अधिवेशनबाट पाँच पदाधिकारीसहित २ सय १५ सदस्यीय प्रदेश कमिटी बन्नेछ । अधिवेशनमा सर्वसम्मत नेतृत्व छनोटको प्रयास हुने अध्यक्ष न्यौपानेले बताए । सहमति नभए निर्वाचन हुनेछ । निर्वाचन हुँदा प्यानल भने बनाउन निषेध गरिएको छ ।
अधिवेशनका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रदेश इञ्चार्ज रघुवीर महासेठले अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने बताएका छन् ।
अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् ।