ताप्लेजुङ । ताप्लेजुङका किसानलाई प्रमुख नगदेबाली अलैँची टिप्ने चटारो छ । यतिखेर खेतबारी तथा कान्ला भित्ता र खोल्सीहरुमा अलैँची पाक्न थालेको छ ।
किसानहरु अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । भदौ १० गतेदेखि अलैँची टिप्न शुरु गरिएको हो । कात्तिक महिनाको अन्तिमसम्म नै अलैँची टिप्ने कामको चटारो हुन्छ ।
पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरे चरा तथा मुसाले खाने हुँदा किसानलाई अलैँची भित्र्याउन चटारो परेको हो । सबैतिर एकै पटक अलैँची टिप्ने र थन्क्याउने काम भइरहेकाले काम गर्ने जनशक्तिको अभाव हुन थालेको मैवाखोला गाउँपालिका(४ का लेखनाथ गौतमले बताएका छन् ।
ताप्लेजुङमा झण्डै चार हजार ५ सय हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ भने दुई हजार ५०० मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क छ । यसवर्ष अलैँचीको मूल्य पनि राम्रो भएकाले किसान उत्साहित छन् ।
अहिले अलैँची प्रतिमन अर्थात् (४० किलो) को ५५ देखि ६० हजार रुपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी महासङ्घ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीले बताएका छन् । यसपालि भाउ बढे पनि अलैँचीको उत्पादन ५० प्रतिशतले घट्ने सम्भावना रहेको रेग्मीले बताए ।
भाउ बढे पनि यस वर्ष हिउँदमा पर्याप्त वर्षा नभएका कारण र रोग लागेकाले उत्पादन घट्न सक्ने किसानको अनुमान छ ।