सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ३ को श्री हिमाल दर्शन माध्यमिक विद्यालयमा विद्यार्थी सहायता कोष स्थापना गरिने भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहायताका लागि ‘हिमाल दर्शन विद्यार्थी सहायता कोष’ स्थापना गरिने भएको हो ।
असोज १४ गते आइतबार विद्यालयको नयाँ प्रशासनिक भवन उद्घाटन गरि त्यसको औपचारिक घोषणा गरिने विद्यालय व्यवस्थापन समितिका सदस्य नवराज जम्मरकट्टेलले जानकारी दिएका छन् ।
‘जन्मदिनमा मेरो लगानी, कल्याणकारी कार्यको थालनी’ भन्ने नारासहित सुरु गरिने यो कोष सञ्चालनका लागि ९ सदस्यीय सञ्चालक समिति गठन गर्ने तयारी रहेको बताइएको छ । तीन बर्षे कार्यकाल रहने कोष सञ्चालक समितिमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नै अध्यक्ष हुने ब्यबस्था गरिएको छ । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी गठन भएको कोष सञ्चालक समितिको बैठकले गर्ने निर्णयका आधारमा कोष सञ्चालन गर्ने गरी एक कार्यबिधी तयार गरिएको उनले बताएका छन् ।
कोषमा संकलित रकम आर्थिक स्थिति कमजोर भएका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको गम्भीर प्रकृतिको रोगको उपचार तथा जेहेन्दार विद्यार्थीको शैक्षिक उन्नयनमा खर्च गर्ने उद्देश्य रहेको विद्यालयले जनाएको छ ।
कोषका लागि विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी, पूर्व शिक्षक अक्षयकोषदाता, चन्दादाता, जग्गादाता, शिक्षक र सरोकारवालाहरुले आफ्नो जन्मदिनमा स्वेच्छिक रकम संकलन गरिने छ । विद्यालयमा अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीले आफ्नो जन्मदिनमा १००, विद्यालयमा ४ कक्षा देखि १२ सम्म अध्ययन गरी अन्य विद्यालयमा स्थानान्तरण हुँदा दिइने चारित्रिक प्रमाणपत्र वापत १००, अन्य विद्यालयबाट कक्षा ६ देखि ११ सम्म अध्ययन गर्न आउने प्रति विद्यार्थी १०० रुपैयाँ कोषका लागि संकलन गर्ने लक्ष्य लिईएको छ ।