२३ कार्तिक २०८१, शुक्रबार | Sat Nov 9 2024

सोलुको लुक्ला विमानस्थलका लागि रामेछापको मन्थलीबाट उडान सुरु



सोलुखुम्बु । पर्यटन सिजन सुरु भएसँगै सोलुखुम्बु लुक्लाको तेञ्जिङ हिलारी विमानस्थलका लागि रामेछापको मन्थलीबाट उडान सुरु भएको छ । तारा, समिट र सीता गरी तीन वटा एयरले विदेशी पर्यटकहरूका लागि आजदेखि सोलुखुम्बुको लुक्लासम्म उडान भर्न सुरु गरेका हुन् ।

शरद ऋतु पर्यटकहरुका लागि सिजन मानिने भएकाले काठमाडौँको एयरपोर्ट व्यस्त भई ट्राफिक जाम हुने भएपछि ती कम्पनीहरूले विदेशी पर्यटकहरूलाई गाडीमार्फत मन्थली विमानस्थलसम्म पुर्याउने गर्दछन् । त्यहाँबाट उक्त एयरले सोलुको लुक्ला विमानस्थलसम्म पर्यटकलाई लैजान सुरु गरेको कम्पनीले जनाएको छ ।

करिव दुई बर्षदेखि विभिन्न कारणले उडान भर्न नसकेका वायुसेवा कम्पनीहरूले यस वर्ष बेलैदेखि उडान भर्न लागेका हुन् । दैनिक रूपमा मौसमले साथ दिएसम्म पर्याप्त उडान भर्ने योजना रहेको बताइएको छ ।

काठमाडौँबाट नजिक रहेको यस एयरपोर्टमा साना विमानस्थलहरूका लागि हवाई इन्धनसहितको व्यवस्था भएको पूर्वी क्षेत्रकै एकमात्र विमानस्थल भएकाले इमर्जेन्सी विमान अवतरण लागिसमेत रामेछाप विमानस्थल उपयोगी मानिन्छ । तर नजिकको दूरीमा रहेर पनि रामेछाप–काठमाडौँको नियमित उडान भने कुनै कम्पनीहरूले पनि गर्न सकेका छैनन् ।

स्थानीय प्रशासन र सङ्घीय तथा प्रदेश सांसदहरूको पहलमा ती कम्पनीहरूले नियमित उडान भर्ने सहमति गरी कार्य तालिका नै प्रकाशन गरे पनि यात्रु अभाव देखाउँदै उडान भर्न सकेका छैनन् ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ६ : ३१ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.