३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सोलुखुम्बुको लुक्लामा सञ्चालित हाइड्रोपावरको समान ३ महिनादेखि फाप्लु एअरपोर्टमा थन्कियो



सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–२ लुक्लाको माइक्रो हाइड्रोपावरको सामग्री ३ महिनादेखि फाप्लुमा रोकिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरबाट सामग्री ढुवानीमा रोक लगाएसँगै यी सामग्रीहरु ३ महिनादेखि फाप्लु एअरपोर्टमा रोकिएको हो ।

विद्युतको टर्वाइन, जेनेरेटर, विद्युत् हिटर, ट्रान्सफर्मर, कन्ट्रोल प्यानल लगायतका वजनदार सामग्रीहरु फाप्लु एअरपोर्टमै ३ महिना देखि थन्किएको छ । काठमाण्डौबाट ल्याइएको विद्युत् सामग्रीहरुमध्ये सानो सामानहरु जहाजमार्फत् लुक्ला लगिएको छ भने हेलिकप्टरमा सिलिङ गरेर लैजानुपर्ने ठूला सामग्रीहरु भने फाप्लुमै अलपत्र परेको लुक्लाका वडाध्यक्ष आङ फुर्वा शेर्पाले बताएका छन् ।

सामग्री लैजान वडा कार्यालयले प्राधिकरणलाई पत्र नै काटे पनि सुनुवाइ नहुँदा समस्या भएको वडाध्यक्ष शेर्पाको भनाई छ । सामग्री नपुग्दा लुक्लाको बमखोला लघुजलविद्युत् आयोजनाको एउटा गृहको विद्युत् उत्पादन ठप्प रहेको छ ।

सडक नपुगेका कारण खुम्बु क्षेत्रमा सामग्री ढुवानीका लागि उडानकै भर पर्नुपर्ने बाध्यता रहेको छ । गाडी पुग्न नसकेको लुक्ला क्षेत्रमा हरेक सामग्री ढुवानीमा हेलिकप्टरकै भरपर्नु परेको समयमा प्राधिकरणले उडानमा कडाइ गर्दा खुम्बुवासीलाई ठूलो मार परेको स्थानीयहरुको गुनासो छ ।

प्राधिकरणले गएको असार २६ गते मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लामाजुरामा दुर्घटना भएपछि प्राधिकरणले हेलिकप्टर उडानमा कडाइ गरेको हो । त्यसयता मौसमको कारण सुरक्षालाई ध्यान दिँदै सेप्टेम्बर अन्तिमसम्मका लागि हेलिकप्टरमार्फत् हुने सामग्री ढुवानीलाई रोक लगाएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८०, सोमबार  ३ : ०२ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.