हेटौंडा । भन्सार छलि गरी ल्याएको ८ सय ५५ बोतल मदिरासहित ५ जना भारतीय नागरिकलाई मकवानपुर प्रहरीले प्रक्राउ गरेको छ । गत शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित ५ जना भारतीय नागरिक पक्राउ परेको जानकारी दिएको हो।
आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गर्दै हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख सितारमा रिजालले बताए ।
यस्तै पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेको उनले बताए । पक्राउ परेकाहरूलाई बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाउने तयारी प्रहरीको छ।