९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सोलुखुम्बुमा चिराइतो खेतीतर्फ किसान आकर्षित



सोलुुखुम्बु । सोलुखुम्बुका कृषकहरु चिराइतो खेती तर्फ आर्कषित बन्न थालेका छन् । राम्रो आम्दानी हुने भएपछि सोलुखुम्बुका किसान विगत एकदशकयता चिराइतोखेतीतर्फ आकर्षित बनेका हुन ।

पछिल्लो समय छोटो समयमा राम्रो आम्दानीको श्रोत खोज्दै अन्नबाली फलाउने बारीमा व्यसायिक रुपमा चिराइतो खेती गर्न थालेको कृषक छिरिङ शेर्पाले बताएका छन् । जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको गुदेल, बुङ, छेस्कामलगायतका क्षेत्रमा चिराइतो खेती गर्ने कृषकको संख्या बृद्धि भइ रहेको छ । किसानहरुका अनुसार चिराइतो खेती विसं २०६६/०६७ देखि खेती गर्न शुरु गरेका थिए ।

जंगली जनावरबाट जोगाउनु नपर्ने र जंगलको आसपासमा खेती लगाउन सकिने चिराइतोबाट किसानले विसं २०७० बाट आम्दानी लिन शुरु गरेको बताउँछन् । प्रतिमन २२ हजारका दरले बिक्री गरी एक परिवारले तीन लाखसम्म वार्षिक आम्दानी लिन सफल भएको कृषक हरिधनी कुलुङको भनाई छ ।

चैत तथा वैशाख महिनामा चिराइतो खेती लगाई तीन वर्षपछि आम्दानी लिन सकिन्छ । साविकको गुदेल गाविसमा व्यावसायिकरुपमा चिराइतो खेती गर्ने कृषकको संख्या करिब ५० रहेको छ । चिराइतो खेतीलाई व्यवस्थित गरी कृषकको आम्दानी बढाउनका लागि ‘जि फाउन्डेसन’ नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग र नवज्योति युवा मञ्च सोताङको साझेदारीमा तालीम सञ्चालन गरी किसानलाई बीउ वितरणसमेत गरेको थियो ।

यस्तै, सोलुखुम्बुमा चिराइतो निकासीमा बृद्धि भएको छ । जिल्लाबाट आर्थिक वर्ष २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा ६० प्रतिशतले चिराईतो निकासी बृद्धि भएको हो । डिभिजन वन कार्यालय सोलुखुम्बुको तथ्यांकलाई हेर्दा आर्थिक वर्ष २०७८/७९ मा ५ हजार किलो चिराईतो निकासी भएको थियो भने गत आर्थिक वर्ष २०७९/८० मा जिल्लाबाट १२ हजार ५ सय किलो चिराईतो निकासी भएको पाइएको छ ।

जिल्लामा चिराईतो उत्पादन बढेसँगै निकासी पनि बढेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८०, शनिबार  २ : ०५ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.