३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

सल्लेरी–माप्यदुधकोशीदेखि खुम्बु जोड्ने सडक कालोपत्रेको शिलान्यास



तस्विर : साभार
सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट माप्यदुधकोशी हुँदै सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको शिलान्यास गरिएको छ । माप्यदुधकोशी गाउँपालिकाले सिलिगुडी डांडामा शुक्रबार आयोजना गरेको कार्यक्रममा सल्लेरी–सिल्गुडीडाँडा–काँकु बासा–खरिखोला–लुक्ला–खुम्बु सडक शिलान्यास गरिएको हो ।

कालोपत्रेको शिलान्यास प्रतिनिधिसभा सदस्य मानबीर राई, प्रदेशसभा सदस्य बुद्धि कुमार राजभण्डारी,माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई र उपाध्यक्ष गौरव राईले सयुक्त रूपमा शिलान्यास गरेका हुन् ।

उक्त सडक कालोपत्रेको ठेक्का चम्पेश्वर–पिएम निर्माण जेभि ललितपुरले पाएको जानकारी पनि दिए । बहुवर्षीय आयोजना अन्तर्गत पर्ने सो कार्यका लागि निर्माण कम्पनीले २०८३ असार २७ गते सम्मको समय अवधि पाएको छ । तर पहिलो चरणको काम अन्र्तगत १५ किलोमिटर सडकमा सडक चौडा, वाल, नाली निर्माण, ठाउँ ठाउँमा ह्युम पाईप राख्नेसहित कालोपत्रे गर्ने कार्य एक वर्ष भित्र सकिने निर्माण कम्पनीले जनाएको छ ।

पहिलो चरणमा करिब १५ किलो मिटर सडक कालोपत्रे हुने उक्त योजना संघीय सरकारको ४० करोड ९० लाख ८४ हजार ९ सय ३८ रुपैयाँको लागतमा सुरु हुन लागेको माप्यदुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ६ : ४६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.