काठमाण्डौं । सरकार र आन्दोलनरत शिक्षकबीच छलफल जारी रहेको छ । नेपाल शिक्षक महासंघको मागको विषयमा छलफल गर्न गृह मन्त्रालयमा दुवै पक्षबीच छलफल सुरु भएको हो ।
छलफलमा सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र नेपाल शिक्षक महासंघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि सहभागी छन् ।
उनीहरुबीच विभिन्न चरणमा छलफल भएपनि निष्कर्ष पुग्न सकेको छैन । शिक्षा विधेयकमा १७ बुँदे असहमति राख्दै विभिन्न जिल्लाबाट शिक्षक÷शिक्षिका तीन दिनदेखि काठमाडौंमा आन्दोलन गरि रहेका छन् । सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालिन आन्दोलन सुरू गरेका छन् ।
हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी राहत गरी एक लाख ५७ हजार तीन सय ४३ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा कक्षा १२ सम्म ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।
शिक्षकहरुको आन्दोलनका कारण अहिले विद्यालय बन्द छन् । ३ दिन देखि काठमाण्डौको नयाँ बानेश्वर,माइतीघर क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ ।