३० जेष्ठ २०८२, बिहिबार | Fri Jun 13 2025

चीनको हाङ्चाओ सहरमा भोलि शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदै



काठमाण्डौ । चीनको हाङ्चाओ सहरमा भोलि शनिबारदेखि १९औँ एशियाली खेलकुद प्रतियोगिता (एसियाड) सुरु हुँदैछ । समारोहमा आयोजक, खेलकुद समिति, प्रशिक्षक, खेलाडी र व्यवस्थापक गरी १२ हजार पाँच सयभन्दा बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

जसमा ४० खेल, ६१ वटा विधा र चार सय ८१ प्रतिस्पर्धा हुनेछन् । एशियाली खेलकुद कुम्भ मेलाको उद्घाटन चीनका राष्ट्रपति सी चीनफिङले गर्ने छन् । खेलाडीको मनोबल बढाउन तथा खेल कूटनीतिमा नेपालको भूमिका स्थापित गर्न चीनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा भाग लिन सिरियालगायत कयौँ मुलुकका राष्ट्रपति र सरकार प्रमुख र नेताहरू हाङ्चाओ सहर पुग्ने भएका छन् ।

यस्तै प्रतियोगिता हाङ्चाओका साथै नजिकका छिमेकी सहरमा समेत आयोजना हुनेछ । विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ जना पुरुष गरी दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

एसियाडमा ठूलो सङ्ख्यामा नेपाली खेलाडी सहभागीता हुन लागेको यो पहिलो हो । नेपालले कराँते र तेक्वान्दालगायत मार्सल आर्ट खेल विधामा विगतदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको छ ।

प्रतियोगीतामा मुलुकका तीन सुरक्षा निकायका विभागीय टोलीबाट एक सय ६२ जना खेलाडी सहभागिता रहनेछ । नेपाली सेनाका ६३, सशस्त्र प्रहरी बलका ५३ र नेपाल प्रहरीका ४६ खेलाडीले विभिन्न खेल विधामा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ३ : २६ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.