काठमाण्डौँ । यू—१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशलाई ३—० गोलले पराजित गरेको हो ।
पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा एक गोल थपेको थियो । समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा भारतका लागि पहिलो गोल गोभर्भले गरेका थिए ।
दोस्रो गोल पहिलो हाफको इन्जुरी समयमा नाओबा मेइतेईले गरेका थिए । टोलीका लागि तेस्रो गोल भने दोस्रो हाफको अन्तिम समयमा अर्जुनसिंह ओइनामले गरेका थिए । साफमा च्याम्पियनसिपमा ६ टोलीको सहभागिता रहेको छ । समूह ‘बी’ मा तेस्रो टोलीको रुपमा भुटान रहेको छ ।
समूह ‘ए’ मा आयोजक नेपाल, माल्दिभ्स र पाकिस्तान रहेका छन् । प्रत्येक समूहबाट दुई—दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् ।