६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

आज दर खाने तयारी,नेपाली महिलाहरुको तीज पर्ब आजदेखि सुरु



काठमाडौं।हरितालिका व्रतको तयारीस्वरुप नेपाली महिलाहरु आज दर खाने तयारीमा छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ ।तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई भोलि (सोमबार) व्रतका लागि पूर्व तयारी गर्छन् ।

विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् ।

आइतबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ ।

पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मान्यता रहेको छ ।

 

 

 

 

file photo

 

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ११ : २३ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.