काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहबाट मतदाता नामावली सङ्कलन र निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन तथा विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि तयार गरेको छ । आयोगले तयार पारेको कार्यविधि चार वटा मन्त्रालयमा रायका लागि पठाएको जनाएको छ ।
आयोगको निर्वाचन शिक्षा शाखाका अनुसार मतदाता नामावली सङ्कलन र विदेशमा रहेका नागरिकको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्यविधि अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रायका लागि पठाइएको छ । भदौ पहिलो साता तीन वटै मन्त्रालयमा कार्यविधि पठाइएको र आइतबारसम्ममा रायसहित आइपुग्ने आयोगले जनाएको छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ मा आयोगले निर्वाचन शिक्षा कार्यक्रम स्थानीय तहबाटै सञ्चालन गर्ने जनाए पनि प्रभावकारी हुन सकेको थिएन । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न आयोगले विदेशस्थित कूटनीतिक नियोगमार्फत नामावली सङ्कलन गर्ने तयारी थालेको छ ।