९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा कार्यक्रम गर्ने



काठमाण्डौ । नेकपा (एमाले) ले संविधानसभाका अध्यक्ष स्व. सुवास नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ । आउँदो असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको हो ।

पार्टीका महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा आज शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको
हो । विचार गोष्ठी सबै प्रदेशमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुनेछ भने विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरिने एमालेको केन्द्रीय प्रचार विभागले जनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्ने कार्यक्रम छ भने अन्य छ प्रदेशमा हुने विचार गोष्ठीमा पार्टीका उपाध्यक्ष जाने छन् ।

जसअनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा हुने विचार गोष्ठीमा प्रमुख वक्ताका रूपमा जाने भएका छन् । कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाने बताइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ४ : २४ बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.