तस्विर : साभार
काठमाण्डौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले बरामद गरेको करिब एक किलो सुन प्रकरणको अनुसन्धानमा काभ्रेका कांग्रेस नेतातर्फ मोडिएको छ । अनुसन्धानका सिलसिलामा यसमा कांग्रेसको युवा संगठन तरुण दलका नेता विकास लामाको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, विकास बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री तीर्थबहादुर लामा निकट व्यक्ति हुन् ।
मंगलबार विहान दुबईबाट हिमालयन एयरलाइन्समार्फत मलद्वारमा लुकाएर ल्याएको हुँदा विशेष सूचनाका आधारमा सुनसहित प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका–३ का बाबुलाल दोङलाई पक्राउ गरेको थियो ।
यस्तै सुनका भरिया दोङलाई पच्छ्याउँदै जाँदा सुन लिन आउने काभ्रेको रोशी गाउँपालिका–३ घट्टेखोलाका जगत लामा र महाभारत गाउँपािलका–३, सानोपोखरा घर भई बनेपा बस्दै आएका दोर्जे स्याङ्तानलाई पनि पक्राउ गरेको थियो ।
उनीहरुको बयानबाट यसमा काभ्रेका विकास लामाको संलग्नता पनि खुलेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका छन् । उनको अहिले खोजि भइरहेको छ ।