सुर्खेत । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डितको शव फेला परेको छ । आज मंगलवार भेरी नदीमा उनको शव फेला परेको हो ।
सोह्र दिनदेखि बेपत्ता रहेका त्रिपुरासुन्दरी नगरपालिका–५ करबगाडस्थित चिण्डेबगर नजिक भेरी नदीको किनारमा शव फेला परेको प्रहरीले जनाएको छ । त्रिपुरासुन्दरी–५ का परिमल भनिने शिवमल सार्कीले माछा मार्न गएका वेला बिहाने भेरी नदीको किनारमा लास देखेपछि खदाङ्गस्थित प्रहरी चौकीमा खबर गरेका थिए ।
सार्कीले खबर गर्ने बित्तिकै खदाङ्ग प्रहरीले जिप्रकामा खबर गरेलगत्तै प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीको कमाण्डमा सेनाका मेजर रवि शाहको टोली चिण्डेबगर पुगेको थियो । प्रहरी नायव उपरिक्षक बुढाथोकीको टोली पुगेको केही समयपछि रामबाण गुल्मका गुल्मपति ध्रुव कार्कीको टोली समेत पुगेपछि शव बाहिर निकालिएको थियो। घडी र औँठीबाट शव बेपत्ता मेजरको भएको पुष्टि भएको घटनास्थलमा पुगेका प्रनाउ बुढाथोकीले बताएका छन् ।
काठमाडौँस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपराह्न बेपत्ता भएका थिए ।