काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले मुलुकमा आतंककारी क्रियाकलापलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् । सरकारले ज्यान मार्ने गरि आक्रमण गर्ने र ज्यान मार्ने धम्की दिनेलाई पक्राउ नगरि त्यस्ता क्रियाकलापलाई प्रोत्साहित गरेको बताएका हुन् ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा तेजावविरुद्ध आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटना र ताप्लेजुङमा डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई नियन्त्रणमा नलिएर सरकारले आतंककारी गतिविधिलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन् ।
एक हप्ता अघि ताप्लेजुङका डिएसपीसहित उनको परिवारलाई मार्छु भन्ने धम्की दिनेलाई सरकारले नियन्त्रणमा नलिदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको भन्दै त्यस्ता कुरालाई बेलैमा नियन्त्रण नगरेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।
अध्यक्ष ओलीले जघन्य अपराध गरेकाहरुलाई उन्मुक्ति नदिन आफू नेतृत्वको सरकारले तेजाव आक्रमणविरुद्ध कडा कानून निर्माण गर्नुपरेको बताएका छन् । उनले तेजाव आक्रमण बिरुद्ध जागरण अभियान सञ्चालन गर्ने र हिंसा विरुद्धको अभियानमा साथ दिन सञ्चारकर्मीहरुलाई पनि पटकपटक आग्रह गरेका छन् ।
नेपालमा जातको नाममा, भाषाको नाममा, सम्प्रदायका नाममा, विभिन्न आस्थाका नाममा अनेक ढंगले द्वन्द्व र अस्थिरता मच्चाउन खोजिएको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसो हुन नदिने गरी जनचेतना फैल्याउने काममा सञ्चारमाध्यामहरु लाग्नुपर्ने बताएका छन् ।