काठमाण्डौ । सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भन्सार अधिकृतसहित थप तीन कर्मचारी पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले तिनै जना कर्मचारीलाई शनिबार प्रकाउ गरेको हो । भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा (नासु) द्वय कमल परियार र वीरेन्द्र नेपालीलाई सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिएका छन् ।
६० केजी सुन तस्करी प्रकरणमा यसअघि प्रकाउ परेका भन्सार एजेन्ट, कर्मचारी तथा तस्कर माथिको अनुसन्धानपछि भन्सारका तीन कर्मचारीको संलग्नता खुलेको हो ।
यसअघि पक्राउ परेकाहरूको बयानका आधारमा अरू कर्मचारीको संलग्नता देखिएपछि थप तीन कर्मचारी पक्राउ गरिएको हो । सुन तस्करी प्रकरणमा हालसम्मा पक्राउ पर्नेको संख्या ३१ पुगेको सीआइबीले जनाएको छ ।