काडमाण्डौं । मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६ सय ३२ जनाको मृत्यु भएको छ भने ३ सय २९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ ।
भुकम्पमा ज्यान गुमाउने र घाइते हुने सबैभन्दा बढी अल–हौज र ताराउदान्ट प्रान्तका रहेका छन् । उक्त मन्त्रालयले मराकेस, अगादिर, कासाब्लाङ्का, और्जाजाटे, चिचौवा, अजिलाल र युसुफिया पनि अधिक प्रभावित भएका जनाएको छ ।
शुक्रबार राति ११ : ११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । शक्तिशाली भूकम्पपछि साना–साना धेरै धक्का आज पनि महसुस गरिएको मोरक्कका सञ्चार माध्यमले बताएका छन् ।
शुक्रबारको भूकम्प देशमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको समाचारमा उल्लेख छ । सरकारी अधिकारीहरूका अनुसार देशको एक तिहाइ भू–भाग भूकम्पबाट प्रभावित भएकाले ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान छ । भूकम्पले नराम्ररी प्रभावित पर्वतीय क्षेत्रमा रहेका दुर्गम गाउँसम्म निकै कठिन भएको छ ।
पुराना भवन भएका ती गाउँमा अकल्पनीय विनाश भएको अनुमान गरिएको छ । ती स्थानमा उद्धारकर्ताहरू पुग्न केही दिन लाग्न सक्छ । मराकेस, कासाब्लाङ्कालगायत शहरी क्षेत्रका मानिसले सडकमा रात बिताएका छन् । क्षति एवं हताहतीको विस्तृत विवरण प्राप्त भएको छैन ।