३ जेष्ठ २०८२, शुक्रबार | Fri May 16 2025

बाँके बस दुर्घटना- एउटै वडाका पाँच सहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर



काठमाडौं । बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्द र सहचालक रहेका छन् । मृतक पाँच जनाको परिचय खुलेपनि सहचालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।


दुर्घटनामा अन्य ३३ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताए ।
उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बस तिव्र गतिमा आएकोले दुर्घटना भएको बुझिएको छ । चार जनालाई नेपालगञ्ज नर्सिङ होममा उपचार भैरहेको छ । चार मध्ये दुई जनाको अवस्था गम्भीर छ ।’
दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको ठाकुरबाबा नगरपालिका–९ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोली चढेको बस बाँकेको शमशेरगन्ज नजिक रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

डिएसपी डाँगीका अनुसार घाइते ९ जनाको अवस्था सामान्य छ । दुई जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । नेपालगञ्ज नर्सिङ होममा उपचार गराईरहेको चार मध्ये दुईको अवस्था गम्भीर रहेको र आइसियुमा उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ । बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

डिएसपी डाँगीले बसमा ४० जना सवार रहेको बताएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ५० बजे


©2025 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.