नेपालगञ्ज।बाँकेमा गएराति बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।
दाङबाट बर्दियातर्फ गइरहेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकीराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको हो। गएराति ९ बजे भएको दुर्घटनामा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए।
दुर्घटनामा ठाकुरबाबा-९ का ५० वर्षीय कांशिराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, ४० वर्षीया जयन्ती थारु, ठाकुरबाबा-७ का ६५ वर्षीय साधुराम थारु, ठाकुरबाबा-८ का ४५ वर्षीय जुगबहादुर चन्द र अर्का एक जना युवकको मृत्यु भएको डीएसपी डाँगीले जानकारी दिए।
जुगबहादुर बस चालक हुन् भने अर्का सनाखत नभएका व्यक्ति पनि बस स्टाफ भएको प्रहरीको भनाइ छ।
बस दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेको कोहलपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। बसमा ४१ जना सवार रहेको बुझिएको डीएसपी डाँगीले बताए।
तस्बिर – सामाजिक संजाल