काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि आफैँ पद त्याग्न कि गृहमन्त्रीलाई हटाउने चेतावनी दिएका छन् ।
पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणविरुद्ध काठमाडौंमा आयोजित प्रदर्शनपछिको कोण सभालाई सम्वोधन गर्दै गुरुङले, गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।
उनले भने ‘पुष्पकमल दाहालज्यू, तपाईंसँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्रीलाई बर्खास्त गर्नुस, या तपाईं नै हट्नुस ।’
कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका गरेका गुरुङले कांग्रेसले यो सरकारलाई बोकेर हिड्न नहुने तर्क गरे ।
उनले आफ्ना नेता माथिको आक्रमणमा सरकारकै सहभागिताको आशंका गरे ।
‘ घटनाक्रमले के देखाउँछ भने हत्याराले दायाँबायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ ।’ उनले भने ‘अब हामी यो सरकारलाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ ।’
उनले गृहमन्त्रीको राजीनामा नआएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
‘अब हामीमाथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशैभरिका विद्यार्थी साथीहरुलाई यो संविधान र व्यवस्थाको सुरक्ष ागर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनुहुन्न तबसम्म आन्दोलन जारी रहन्छ ।’