काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा सभापतिको उम्मेद्वार बन्न सक्ने बताएका छन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्नसक्ने बताएका हुन् ।
भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुंगो भने नलागिसके बताएका छन् । विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्नसक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् ।
पार्टीका साथीहरूसँग सल्लाह गरेरमात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उनको भनाइ छ । तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभनेको उनको भनाइ छ।