काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणको चालु आर्थिक वर्ष २०८०/०८१ को बजेट सञ्चालक समितबाट पारित भएको छ । मंगलबार बसेको सञ्चालक समितिले चालु आर्थिक वर्षको बजेट पारित गरेको हो ।
चालु आर्थिक बर्षका लागि प्राधिरकणले ३६ अर्ब ६६ करोड रूपैयाँको बजेट ल्याएको छ । जसमा चालु खर्चतर्फ ७ अर्ब रहेको छ १९ अर्ब पुँजीगत खर्चतर्फ १९ अर्ब रूपैयाँ रहेको छ । यसैगरी वित्तीय व्यवस्थातर्फ १० अर्ब ६६ करोड रूपैयाँ हुने गरी बजेट पारित भएको प्राधिकरण प्रवक्ता जगनाथ निरौलाले जानकारी दिएका छन् ।
चालु आर्थिक बर्षका लागि पारित गरिएको बजेट गत आर्थिक बर्षकोे भन्दा कम हो । प्राधिकरणका अनुसार गत आवको भन्दा ५ अर्ब १९ करोड रूपैयाँ कम गरी चालु आवको बजेट आएको हो ।
प्राधिरकणले बजेटमा नयाँ विशेष कुनै कार्यक्रम नभएको र अघिल्ला वर्षहरुदेखि सञ्चालन भएरहेका कामलाई नै प्राथमिकतामा राखेर बजेट ल्याएको निरौलाले बताएका छन् ।
नेपालगञ्ज, विराटनगर, भरतपुर तथा भोजपुर विमानस्थलमा निर्माण सुरु भएका आधुनिक तथा सुविधा सम्पन्न टर्मिनल भवनको कामलाई तिव्रता दिने तथा अन्य आन्तरिक विमानस्थललाई पनि विस्तार तथा स्तरोन्नतिलाई केन्द्रमा राखेर बजेट विनियोजन भएको छ ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार तथा स्तरोन्नतिअन्तर्गत भइरहेको ट्याक्सी वे, एप्रोन तथा ह्याङगर निर्माणलाई निरन्तरता दिने र भरतपुर विमानस्थल विस्तारको काम लागि अगाडि बढाउने गरी बजेट प्राथमितामा छ ।
संघ सरकारबाट आउने बजेट घटेको र ठूला विमानस्थलको भुक्तानी सकिदा जाँदा बजेट कम भएको प्राधिकरणले जनाएको छ । साथै प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड आम्दानी गर्ने लक्ष्य समेत लिएको छ । गत आवमा प्राधिकरणले १३ अर्ब ३९ करोड आम्दानी गरेको थियो ।