कामाण्डौ । सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच भेटवार्ता भएको छ। सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, अमेरिकी सहयोग तथा संसदीय आदान प्रदानका विषयमा छलफल भएको थियो ।
भेटमा सभामुख घिमिरेले संयुक्त राज्य अमेरिका नेपालको पुरानो मित्र भएको उल्लेख गर्दै सन् १९४७ मा नेपालले अमेरिकासँग दौत्य सम्बन्ध स्थापना भए पश्चात नेपाल र अमेरिकाको सम्बन्ध सुमधुर रहेको बताएका छन् । सभामुख घिमिरेले नेपाल र संयुक्त राज्य अमेरिकाका संसदीय प्रतिनिधिमण्डलबीचको भ्रमणको आदानप्रदानबाट दुई देशको संसदीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।
भेटमा सिनेटर होलेनले नेपालमा गतिशील प्रजातन्त्रको जन्म भएको बताउँदै यस प्रक्रियामा भूमिका खेल्ने नेपालका राजनीतिक दललाई धन्यवाद व्यक्त गरेका छन् । उनले नेपालमा एमसीसी कार्यान्वयन सुरु भएलगत्तै आफ्नो भ्रमण भएको र एमसीसीबाट नेपाललाइ फाइदा हुने बताएका छन् ।