जनकपुर । जनकपुरधामको नवजीवन हस्पिटलमा घुँडाको शल्यक्रिया गर्दा चिकित्सकले बिरामीको शरीरभित्रै कपडा छाडेको पाइएको छ ।
महोत्तरीको भंगहा नगरपालिका–९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुँडाको शल्यक्रिया गर्दा शरीरभित्रै कपडा (गज) छाडेको पाइएको हो ।
गत साउन ४ गते मोटरसाइकल दुर्घटनामा परि घुडामा चोट लागेको थियो । उनको शल्यक्रिया गरेपछि दुख्ने र घाउबाट पिप आउने भएपछि पुनः अर्को अस्पतालमा अपरेशन गर्दा शरीर भित्रै कपडा भेटिएको पीडित परिवारले जनाएको छ ।
भदौ ५ गते जनकपुरधाम बाह्रबिघाको उत्तरी पूर्वकुना नजिकको नवजीवन हस्पिटलमा डा. मुकुन्द झाले मन्दीपको घाउको शल्यक्रिया गरेका थिए । तर घुँडाको घाउँ निको नभएपछि भदौ १२ गते मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका थिए । अर्थोपेडिक सर्जन डा.सन्दीप शर्माले पुनः शल्यक्रिया गर्दा घाउमा कपडा भेटिएको बताएका हुन् । । चिकित्सकको लापरबाहीले आफ्नो स्वास्थ्य झण्डै जोखिममा परेको बिरामी मन्दीपले बताएका छन् । उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनु पर्ने परिवारको माग छ ।