सोलुखुम्बु । जनै पूर्णिमाको अवसरमा नेपाली सेनाले निःशुल्क प्राथमिक स्वास्थ्य जाँच तथा सहायता केन्द्र सञ्चालन गरेको छ । नेपाली सेना दुर्गा बक्स गण सुरक्षा गुल्म सोलुखुम्बुले जनैपूर्णिमाका दिन मेलामा गएका भक्तजनहरुलाई प्राथमिक सेवा सञ्चालन गरेको हो ।
सेनाले आज विहिबार जनैपूर्णिमाको अवसरमा दुधकुण्ड पुगेका २ सय २५ जना भक्तजनको निःशुल्क स्वास्थय उपचार सेवा दिएको छ । जनैपूर्णिमाको अवसरमा टाढा–टाढादेखि दुधकुण्डमा दर्शन गर्न गएका भक्तजनहरुलाई लेक लाग्ने,सुगर, प्रेसर जस्ता विभिन्न समस्या देखिने भएकाले उनीहरु सहजहोस भन्ने उद्देश्यले गणले उक्त सिविर सञ्चालन गरेको हो ।
धार्मिक तिर्थस्थल दुधकुण्ड उच्च स्थानमा रहेकोले भक्तजनहरुको स्वास्थ्य र यात्रा प्रति मध्य नजर गर्दै नेपाली सेना शिबिरका साथै उक्त क्षेत्रको सरसफाई समेत गरेको मेजर कुल्दिप कुवँरले जानकारी दिएका छन् । सहर्ष बेनि र दुधकुण्डमा सञ्चालन गरेको शिविरमा १ सय ५० जना पुरुष र ७५ जना महिलालाई सामान्य उपचार, ३ जनालाई अक्सिजन सहितको सेवा र एक जनालाई दुधकुण्ड देखि सहर्ष बेनिसम्म इस्टेचरमा बोकेर ल्याएको जनाएको छ ।
जनैपूर्णिमाको अवसरमा हरेक बर्ष दुधकुण्डमा मेला लाग्ने गरेको छ ।
१४ भाद्र २०८०, बिहिबार
प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ६ : ४२ बजे