काठमाण्डौ । सांस्कृतिक चाड गाईजात्रा पर्वका अवसरमा आज बिहानैदेखि राजधानीलगायत देशका विभिन्न स्थानमा परम्परागत झाँकी एवं मौलिक बाजागाजासहितको यात्रा चलिरहेको छ ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने यो परम्परागत सांस्कृतिक पर्वका अवसरमा राजधानीको वसन्तपुर दरबार क्षेत्रमा बिहानैदेखि मानिसको भीड लागेको छ । एक वर्षभित्र दिवङ्गतका आफन्तको संझनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउनेको लाम लागेको हो ।
गाई वा गाईका रुपमा सिँगारी जात्राका लागि निकालिएकाहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरेर मनाउने गरिएको छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभर मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाएर वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहि आएको छ ।
यही धार्मिक विश्वासका आधारमा वसन्तपुर दरबार क्षेत्र भएर गाईजात्रा प्रदर्शन भइरहेको छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन “जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु” भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।
गाईजात्रका अवसरमा देश भरि नै विभिन्न हास्यब्यङ्य कार्यक्रमहरु समेत आयोजना गरि मनाईने गरिएको छ ।
१४ भाद्र २०८०, बिहिबार
प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार ५ : १७ बजे