१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

संसदका १० समितिको सभापतिमा उम्मेद्वारी दर्ता, क–कसले दिए उम्मेदवारी ?



काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत विभिन्न विषयगत १० समितिको सभापतिमा मनोनयन दर्ता भएको छ । १० समितिको लागी ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि हुन लागेको समितिको सभापति निर्वाचनमा सत्तारुढ दलसहित प्रतिपक्षी दलका सांसदहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेद्वारी दर्ता गराउनेमा कांग्रेसले कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, संयुक्त संसदीय सुनुवाइ समिति, सुशासन समिति र अर्थ समितिमा उम्मेदवारी दिएका छन् । जसमा कृषिमा आरजु राणा, संयुक्तमा जीवन परियार, सुशासनमा रामहरि खतिवडा र अर्थमा सन्तोष चालिसेले उम्मेदवारी दिएका हुन् ।

यता माओवादीबाट कानुन न्याय तथा मानव अधिकार समितिमा सांसद विमला सुवेदी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा जसपाका सांसद राजकिशोर यादव, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा जनमतका अब्दुल खानले उम्मेदवारी दर्ता गराएका छन् । उद्योगमा रास्वपाका गणेश पराजुलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रतिपक्षी दलतर्फ नेकपा एमालेबाट सार्वजनिक लेखा समितिको सभापतिमा सांसद ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिमा किरण कुमार साह र पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपक सिंहले उम्मेदवारी दिएका छन् ।
समितिको नेतृत्वका लागि भोलि सोमबार निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १० भाद्र २०८०, आइतबार  ४ : ४६ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.