काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन धरापमा परेको र कुनै पनि बेला टुट्न सक्ने बताएका छन। झापाको गौरीगञ्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धनभित्र रोइकराई शुरु भइसकेको हुुँदा गठबन्धनको धागो कुनै पनि बेला चुँडिनसक्ने बताएका थिए ।
गठबन्धनलाई जनताले राम्रोसँग चिनिसकेको बताउँदै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा जनताले एमालेलाई रोज्ने विश्वास व्यक्त गरे । उनले पार्टीका कार्यकर्ताहरूलाई एकताबद्ध भएर निर्धक्क साथ निर्वाचनमा जुट्न आग्रह गरेका थिए । उनले भने,‘नेता–नेता गठबन्धनमा छन्, जनता एमालेमा छन्, जनताको पार्टी एमालेलाई कसैले हराउन सक्दैन ।’ जग बिनाको गठबन्धन धरापमा रहेको बताउँदै अध्यक्ष ओलीले अबको निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने पनि दाबी गरे ।
गठबन्धनमा रहेका माधव नेपाल र प्रचण्ड दिनरात रोइकराई गर्दै हिडिरहेको बताउँदै अध्यक्ष ओलीले भने– ‘उब्रेको खान जाँदा जुठो खान्न भन्न पाइँदैन । उनीहरू अहिले जुठो खान्न भनिरहेका छन्, गठबन्धनमा काँंग्रेसले छोडेका सिट मात्रै अन्य दलले पाउने हो।