६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

आज नेपाली नारीले सप्त ऋषिको पूजाआराधना गरी ऋषिपञ्चमी मनाउँदै



काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

हरितालिका तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णनमा रहेको छ ।

आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

आज स्नान गरी पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गर्दछन्। सप्तऋषिको पूजा गरेसँगै तीज व्रत समाप्त हुने मान्यता छ ।

प्रकाशित मिति : १६ भाद्र २०७९, बिहिबार  ११ : २१ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.