१४ फाल्गुन २०८०, सोमबार | Mon Feb 26 2024

रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक पाँच करोडभन्दा बढी खर्च



काठमाडौँ । नेपाल रेल्वे कम्पनीले भारतको जयनगरदेखि धनुषाको कुर्था रेलमार्गमा सञ्चालन हुँदै आएको रेलको ‘वासिङ’ गराउन मात्र वार्षिक रु पाँच करोडभन्दा बढी रकम खर्च गर्दै आएको छ । कम्पनीको आफ्नै वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने वाध्यता रहेको छ ।

जयनगर–कुर्था रेलमार्गमा गत २०७८ चैत १९ गतेदेखि नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ”, नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन कुमार झाले भने,‘‘ यसका कारण हामीले वासिङमा मात्र बर्सेनि रु पाँच करोड खर्चिदै आएका छौँ ।

नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु सात करोडभन्दा बढी रकम बचत हुन सक्छ”, उनले भने, “यसका लागि बजेट चाहिन्छ, हामीले सरकारसँग बजेट माग्दै आएका छौँ, तर अहिलेसम्म बजेट पाउन सकेका छैनौँ ।” बजेटका लागि आश्वसनबाहेक अहिलेसम्म बजेट पाउन नसकेको उनको गुनासो छ ।

नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ । “नेपाल रेल्वे कम्पनीमा २६ जना भारतीय कर्मचारी कार्यरत छन्”, महाप्रबन्धक झाले भने, “भारतीय कर्मचारीको तलब, रेलको मेन्टीनेन्स, सामान खरिदलगायतमा वार्षिक रु ४८ करोड भारतीय रेल्वे कम्पनीलाई तिर्नुपर्ने अवस्था छ ।”

‘हामीसँग आफ्नो नेपाली चालक छैन, त्यसैलै भारतीय चालकले नै रेल चलाउँदै आएको छ त्यसबापत उहाँहरुलाई तलबबापत मात्रै मासिक रु १८ लाख तिर्नुपर्ने स्थिति रहेको उहाँको भनाइ छ । “तत्काल नेपाली दक्ष कर्मचारी उत्पादन गर्न सम्भव देखिँदैन”, उहाँले भन्नुभयो, “नेपाली जनशक्ति तयार गर्न भारत वा अन्य देशका इन्स्टिच्युटबाट तालिम दिलाउनुपर्छ, त्यसका लागि ठूलो रकम चाहिन्छ ।”

जयनगरबाट कुर्था र कुर्थाबाट जयनगर दिनमा दुई पटक आउने जाने गर्दै आएको रेलबाट दैनिक रु दुई लाख पाँच हजार आम्दानी हुँदै आएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेलबाट वार्षिक रु आठ करोड आम्दानी हुँदा खर्च भने रु ५० करोड जति हुँदै आएको महाप्रबन्धक झाले बताए।

अहिले नेपाल सरकारले भारतीय रेल्वे कम्पनी कार्पोरेशन (कोङकण) लाई वार्षिक रु ४८ करोड तिर्नुपर्ने सम्झौता भएको महाप्रबन्धक झाको भनाइ छ । रेल सञ्चालन भएदेखि रेल घाटा नगए पनि सम्झौताअनुसार भारतीय रेल्वे कम्पनीलाई रु ४८ करोड तिर्नुपर्ने भएकाले समस्यामा परेको महाप्रबन्धक झाले बताए ।

उहाँका अनुसार जयनगरबाट ८ः३० र ३ बजे छुट्ने गर्छ भने कुर्थाबाट १०ः३० र ५ः१५ मा अर्को रेल छुट्ने गरेको छ । रेल चल्न थालेसँगै यहाँको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधामका व्यापारी रोशन साहको भनाइ छ ।

रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशनरहल्ट रहेका छन् । तीनमा कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् । भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरिद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन ।

कहिले कर्मचारी नहुने त कहिले कानुनको अभावले गर्दा लामो समय रेल सेट उसै थन्किएको थियो । अहिले दुवै सेट रेल सञ्चालनमा छ । कुर्थाबाट जयनगर वा जयनगरबाट कुर्था ३५ किमीका लागि सामान्य सिटमा रु ९० भाडादर तोकिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार  १ : ३३ बजे

धेरैले पढेको


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.