१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

आज कुसे औंसी अर्थात बुवाको मुख हेर्ने दिन आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने चलन छ



काठमाडौं । बुबाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी पर्व मनाईंदैछ।

आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने चलन छ । यस दिन बुवाको मुख हेर्ने अर्थात् बुवा दिवसको रूपमा मनाइ बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमै गर्ने हुँदा अमावस्याका दिनमै ती दुवै दिवसहरू मान्ने गरिआएको हो ।

संस्कृतिविद्हरुका अनुसार छोराछोरी आमाबाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोराछोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो ।

बुबाको मुख हेर्ने चलन वैद्धिक कालदेखि नै चलिआएको हो । किनभने यसमा पितृ पक्षको पनि महत्व छ । आजको दिनलाई कुशे औंसी र गोकर्ण औंशी भन्ने पनि चलन छ ।आजकै दिन हिन्दू संस्कारका लागि पवित्र मानिने कुस वर्षैभरलाई पुग्ने गरि घर भित्र्याउने प्रचलन रहंदै आएको छ।

यस दिनमा विशेषगरी बुबा हुनेहरुले जीवित रुपमा नै मुख हेर्ने गर्छन् । तर बुबा नहुनेहरु पवित्र स्थल त्रिवेणी अर्थात् दुई नदीको संगममा गएर पितृ श्राद्ध गर्ने चलन पनि छ ।

ठूलालाई आदर सम्मान र सानोलाई माया र स्नेह दिने संस्कृति छ । त्यही अनुरुप बुबा जसले आफ्लाई धर्तीमा ल्याउनुभयो उहाँका लागि हरेक दिन खास छ । तर पनि आजको विशेष दिन भनेर छुट्याइएको छ ।

जीवन छउन्जेलसम्म सम्मान र बितिसकेपछि पनि बुबा पितृ बनेर रहन्छ भन्ने आत्मविश्वास छ । त्यसकारण हिन्दूहरु सधैँ अमर रहने मान्यता छ ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार  ४ : २८ बजे


©2024 Bhume Sanchar सर्वाधिकार सुरक्षित भुमे संञ्चार प्रा.लि.