काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृतरूपमा निर्माण भएका संरचनामा डोजर लगाएपछि कलाकार दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा स्टाटस लेख्दै बालेनको प्रशंसा गर्दै बाबुरामलाई पनि सम्झिएका छन् । राजनीतिक आडमा रहेर काम नगर्ने मेयरहरूलाई गिरीले व्यंग्य पनि गरेका छन् ।
उनले लेखेका छन् ‘बालेन जे गर्दैछन् ,बाबुरामले जे गरे भोट घटला भनेर बाटोमा टाँसेर बनेका पर्खाल, घरहरुलाइ छुन समेत नसक्ने मेयरहरूले केही सिक्छन् कि ? महानगरपालिकाले यसअघि बिहान काठमाडौं मल अगाडिको संरचना तथा त्यसपछि खिचापोखरी र रञ्जना गल्लीका व्यापारिक मलमा डोजर लगाएको थियो ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पनि यसरी नै काठमाडौंमा अवैध संरचना भत्काउन डोजर चलाएका थिए । बाबुरामकै हिम्मतका कारण काठमाडौंका सडक फराकिलो बनेका थिए । त्यसैले गिरीले बालेनको प्रशंसा गर्दा बाबुरामलाई पनि सम्झिएका हुन् ।
यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नबिल बैंकको न्यूरोड शाखा पनि हटाउन निर्देशन दिएका छन् ।
अवैधानिक रुपमा बनेका संरचना हटाउन बुधबार न्यूरोड गएका मेयर साहले बैंककको कार्यालय बेसमेन्टमा रहेको देखेपछि त्यसलाई हटाउन निर्देशन दिएको उनको स्वकीय सचिव भुपदेव शाहले बताए । न्यूरोडमा अवैधानिक रुमपा बनेका संरचना हटाउने र निरीक्षण गर्ने क्रममा नक्सापास विपरीत बेसमेन्टमा बैंकको कार्यालय रहेको देखेपछि बुधबारबाटै कार्यालय हटाउन निर्देशन दिनुभएको छ’ उनले भने ।
यस्तै काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मल र आरबी कम्प्लेक्सको अनधिकृत संरचना भत्काइदिएको छ । भत्काउने क्रममा मेयर बालेन्द्र शाहसहितको टोली उपस्थित थियो । त्यस्तै नेपाल प्रहरी र महानगर प्रहरीको टोली पनि खटिएको थियो । यसअघि सोमबार महानगरले बानेश्वर क्षेत्रमा अन्य रूपमा प्रयोजन भइरहेका पार्किङ संरचना भत्काएको थियो । महानगरले ३५ दिने सूचना दिँदा पनि अटेरी गरेपछि अनधिकृत संरचना भत्काएको जनाएको छ ।